मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार

 

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेश कुमार साहमाथि बलात्कार मुद्दा दर्ता भएको खुलेको छ ‌।

०८० चैत्र ३० मा उपसचिव साहविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा एक महिलाले जवर्जस्ती करणी (बलात्कार) सम्बन्धी जाहेरी दिएकी थिइन् । ०८१ वैशाख ३ मा जाहेरी दर्ता भयो । जाहेरी दर्ता भएपछि उपसचिव साह सम्पर्क विहिन भए । उनी ०८० वैशाख १८ गतेदेखि नै कार्यालयमा अनुपस्थित छन् ।

उजुरी दर्ता भएपछि धनुषा प्रहरीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र काटेर आरोपी उपसचिव साहको तीनपुस्तेसहितका विवरण माग गरेको छ । प्रहरीले साह हाल कुन पदमा कार्यरत रहेको, मन्त्रालयको निवासमा कहिलेदेखि कहिलेसम्म बसेको, घटना भएको दिन प्रतिवादी साह माघ १८ गते कार्यालयमा कार्यरत रहेको हो/होइनसहित विवरण मागेको हो ।

उनीमाथि उजुरी दर्ता भएको २६ दिन भइसकेको छ । मुख्यमन्त्री कार्यालयले पनि आवश्यक विवरण प्रहरीलाई उपलब्ध गराइसकेको छ । तर आरोपी उपसचिव साह अझै पक्राउ पर्न सकेका छैन् । धनुषा प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।

पीडित महिला मुख्यमन्त्री कार्यालयमै कार्यरत एक कर्मचारीको श्रीमती रहेको बुझिएको छ । श्रीमान बाहिर गएको मौका छोपर ०८० माघ १८ गते उनलाई नशालु पदार्थ खुवाई उपसचिव साहले पहिलोपटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

पीडित महिलाले उजुरीमा लेखेकी छन्- मेरो श्रीमानको साथी भएको नाताले मेरो कोठामा टिभी हेर्न आउने गरेको थियो । श्रीमानको साथी हो भनेर सम्मान पनि गर्थे । यसैक्रममा माघ १८ गते राति मेरो श्रीमान गाउँ गएको बेला हनुमानजीको मन्दिरको प्रसाद हो भनी करचाप गरी नशालु पदार्थ खुवाए । सो प्रसाद खाएपछि म बेहोस भए । त्यसपछि जबरदस्तीकरणी गर्यो ।’

पहिलो दिन जवर्जस्ती करणी गर्दा बनाएको भिडियो र फोटो देखाएर ब्लाकमेल गरी पटक पटक बलात्कार गरेको पीडित महिलाले उल्लेख गरेकी छन् । एसिड हालेर अनुहार बिगारिदिने, चक्कु देखाएर ज्यान मारिदिने लगायतका धाकधम्की त्रास देखाई पटक पटक जवर्जस्ती करणी गरेको पनि उनको भनाई छ ।

‘पटक पटक बलात्कार गर्दा आफ्नो गर्भ रहन गयो,’ पीडित महिलाले भनेकी छन्, ‘उपसचिव साहकी पत्नी, सासु र ससुराले घरमा आई गर्भ तुहाउन दवाव दिए । तर आफू नमान्दा निर्ममतापूर्वक म र मेरो पतिलाई कुटपिट गरी घाइते बनाएको थियो ।’

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले उपसचिव साहमाथि जर्वरजस्ती करणी मुद्दा दर्ता भइरहेको र अहिले पक्राउ पर्न नसकेको बताए । उनले भने, ‘हामी खोजी गरिरहेका छौं ।’