
जनकपुरधाम । मधेश सरकारबाट नेकपा माओवादी केन्द्र आज सरकार छाड्ने भएको छ । मधेश सरकारमा माओवादीका दुई मन्त्री छन् ।
माओवादी संसदीय दलका नेता भरत प्रसाद साह वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्री सरोज कुमार यादवले तोकेको छ । तर साहले कार्यभार सम्हालेका छैनन् । माओवादीबाट युवराज भट्टराई उद्योग, बाणिज्य तथा पर्यटन मन्त्री छन् ।
माओवादीका दुबै मन्त्रीले राजीनामा दिएर सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने तयारी गरेको बुझिएको छ ।
सरकारबाट बाहिरिदै हुनुहुन्छ भन्ने जिज्ञासामा माओवादी दलका उपनेता तथा मन्त्री भट्टराईले भने, ‘अहिले त्यस्तै बुझौं । कुरा भइरहेको छ ।’ सरकार छाड्ने कारण उनले खुलाउन चाहेनन् ।
मधेशमा अहिले जसपा नेपालको सरकार छ । जसपा नेपाल संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री छन् । माओवादी दलका नेता साहले अर्थ मन्त्रालयमा दावी गरेका थिए ।
तर जसपाकै संजय यादव अर्थमन्त्री रहेकाले मुख्यमन्त्रीले उक्त मन्त्रालय माओवादीलाई दिन तयार भएनन् । अर्थ मन्त्रालय नदिएर माओवादीका साहलाई वन तथा वातावरण मन्त्रालय तोकेपछि उनी असन्तुष्ट छन् । सोही कारण वर्तमान मुख्यमन्त्रीको विकल्प सोच्दै माओवादी सरकार छाड्न लागेको छ ।
मधेशमा माओवादीका ९ सांसद छन् । माओवादीले सरकारबाट समर्थन फिर्ता लिए जसपा नेतृत्वको सरकार अल्पमतमा पर्ने देखिएको छ ।
पछिल्लो पटक मुख्यमन्त्रीले विश्वासको मत लिएपछि ६१ सांसदको समर्थन पाएका थिए । माओवादी समर्थन फिर्ता लिएपछि मात्र ५२ सांसदको समर्थन मुख्यमन्त्रीलाई रहनेछ । १०७ सांसद रहेको मधेश प्रदेशमा सरकार बनाउन सामान्य ५४ सांसद आवश्यक पर्छ ।