सिरहा । सिमेन्ट उद्योगका लागि उदयपुर र सिन्धुली जिल्लाबाट चुन ढुंगा आउँछ । उक्त चुन ढुंगा दिनहुँ एक हजारबढी टिपरमा सिरहा र धनुषा आउँछन् । तर, अधिकांश टिपरमा ओभरलोड हुन्छ ।
प्रावधान अनुसार, जहाँ चुन ढुंगा लोड गरिन्छ, त्यहीँ काँटा राखी सवारीको क्षमता बमोजिम मात्रै लोड गर्न पाइन्छ । तर, यहाँ काँटा राख्न लगाउने र त्यसको पालना भए वा नभएको कुराको अनुगमन गर्ने काम उद्योग विभागको हुन्छ ।
तर, यो प्रावधानको कार्यान्वयनप्रति उद्योग विभाग उदासीन रहँदै आएको छ । जसका कारण ओभरलोड समस्या सिरहा प्रशासन र ट्राफिकका लागि टाउको दुखाइको विषय बनेको छ । ओभरलोडलाई कारवाही गर्न रोक्दा एकैचोटि ३-४ सय टिपरको लाम लाग्छ । राजमार्ग नै अवरुद्ध हुने अवस्था आउँछ ।
झन् टिपरबालाहरू पनि गाडी राजमार्गमै लगाई हिँड्ने गरेका छन् । उनीहरू यसरी संगठित छन् कि ट्राफिक र प्रहरीलाईलाई समेत टेर्दैनन् । उल्टै आन्दोलन सुरु गर्छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान सिरहाका प्रमुख डम्बरबहादुर पुरी भन्छन्, ‘लोड गर्ने ठाउँमै काँटा राखेर कार्यान्वयन भए मात्रै ओभरलोड नियन्त्रण गर्न सकिन्छ । हामीले निरन्तर जरिवाना काटेका छौं, तर ओभरलोड नियन्त्रण हुन सकिरहेको छैन ।’
सिरहा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको बैशाख अन्तिमसम्ममा ३४ हजार ६ सय २६ सवारीसाधनलाई कारवाही गरेको छ । यसबाट राजस्व भने २ करोड ७२ लाख ५८ हजार उठाएको छ । यो भनेको विगतको तुलनामा निकै ज्यादा हो ।
ट्राफिक प्रहरीलेले गत बैशाखमा मात्रै ४ हजार ४ सय १२ सवारीसाधनलाई कारवाही गरेको छ । यसमा एक हजार ७४ वटा त टिपर र ट्रक नै छ । जसमध्ये ९ सय ९३ वटा ओभरलोड बोकेका सवारी हुन् ।
यहाँका ट्राफिकले प्रयास त गरेको छ । ओभरलोड नियन्त्रणका लागि मंगलबारदेखि मिर्चैया नगरपालिका-७ स्थित फुलबरियामा ‘डेडिकेटेड चेक पोइन्ट’ नै स्थापना गरी नेपाल प्रहरी र ट्राफिक प्रहरी नै विशेष रूपमा परिचालन गरिएको छ । तर, समस्या मुख्य जड खानीमै भएकाले ओभरलोड समस्या यसरी नियन्त्रण गर्न सकिने देखिन्न ।
गत चैतमा लहानमा भएको सिरहा र उदयपुरको सुरक्षा समिति बैठकमा उदयपुरले ओभरलोड नियन्त्रण गर्ने प्रतिबद्धता पनि जनायो । तर, कार्यान्वयन भने अहिलेसम्म भएको छैन ।
‘उहाँहरूले प्रतिबद्धता जनाउनुभयो, प्रयास पनि गर्नुभएको छ,’ सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले भने, ‘तर, हामी पनि आफ्नो तर्फबाट निरन्तर प्रयासमै छौं ।’
यो समस्या जब सिरहामा मारुती सिमेन्ट उद्योग, धनुषामा कसमस सिमेन्ट उद्योग जब स्थापना भयो, त्यसबेलादेखि नै निरन्तर छ । ओभरलोडेड टिपरका ताती राजमार्गमा हिँड्दा आसपासको जनजीवन नै प्रभावित रहँदै आएको छ ।
यसको विरुद्धमा स्थानीयहरू वर्षौंदेखि आन्दोलन गर्दै आएका छन् । उद्योग र टिपर व्यवसायीले ओभरलोड नियन्त्रण गर्ने, वैकल्पिक बाटो बनाउनेलगायतका प्रतिबद्धता पनि जनाउँदै आएका छन् । तर, कार्यान्वयन भएको छैन ।